एजेन्सी । इटालियन सिरी ‘ए’ मा इन्टर मिलान पराजित भएको छ । गएराति सान सिरोमा भएको खेलमा ऊ आफ्नै घरेलु मैदानमा सासोउलोसँग २–० गोल अन्तरले पराजित भएको हो ।
खेलको ८औं मिनेटमा जियाकोमा रास्पडोरीले गोल गर्दै सासोउलोलाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा जियानलुका स्कामक्काले गोल गर्दै टिमलाई २–० ले अगाडि बढाए ।
त्यसपछि थप गोल निस्कन नसक्दा सासाउलोले सहज जित हात पारेको हो । यो पराजयसँगै इन्टरले शीर्ष स्थानमा उक्लने अवसर पनि गुमायो ।
२५ खेलमा ५४ अंक जोडेको इन्टर दोस्रो स्थानमा कायमै रहँदा जित हात पारेको सासोउलो २६ खेलमा ३३ अंकका साथ ११ औं स्थानमा उक्लिएको छ ।
लिगअन्तर्गत नै भएका अन्य खेलमा भेनेजियाले जिनोआ तथा लाजियोले उडिनेससँग १–१ को बराबरी खेलेको थियो ।




















