काठमाण्डौं । काठमाण्डौंको विभिन्न स्थानबाट ३ थान मोटर साइकल चोरी गर्ने नयाँ बानेश्वरका १ युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महानगरपालिका १० नयाँ बानेश्वर घर भई हाल काठमाण्डौं महानगरपालिका ३२ कोटेश्वर बस्ने २१ वर्षीय पुल्कित ठकुरी रहेको महानगरीय प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।
पक्राउ परेको ठकुरीबाट ३ थान मोटरसाइकल सहित प्रहरीले उनलाई पक्राउ गरेको हो । काठमाण्डौं महानगरपालिका ३२ नरेफाँटस्थित सडकमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीको टोलीले ठकुरीले चलाई ल्याएको बा. ९२ प ३८ लेखिएको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा सवारी साधनको आवश्यक कागजपत्रहरु माग गर्दा कागजपत्रहरु दिन नमानेकाले शंका लागि मोटरसाइकलको चेकजाँच गर्दा अगाडि तथा पछाडीको नम्बर प्लेटमा टेपले अंक छोपिएको पाइएपछि थप सोधपुछ गर्दा उनले उक्त मोटरसाइकल ललितपुर मङ्गलबजारबाट चोरी गरेको खुल्न आएको थियो ।
ठकुरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका क्रममा उनले बिभिन्न मितिमा कोटेश्वर इलाका समेतबाट चोरी गरी ल्याएका थप २ थान मोटरसाइकलहरु काठमाण्डौं महानगरपालिका ३२ नरेफाँट कोरिडोरस्थित खाली जग्गामा रहेको फोहोर फाल्ने थुप्रो नजिक लुकाई राखेको अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको जनाएको छ ।
उनीउपर चोरी गर्न नहुने कसूर मुद्दामा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।


