काठमाण्डौं । नक्कली सुनको गहना बेच्ने कार्यमा संलग्न रहेको अभियोगमा सिरहा कल्याणपुर घर बताउने ३२ वर्षीय पङ्कज कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौंको बुढानीलकण्ठ नगरपालिका ८ मानबहादुर मार्ग नजिकै रहेको असिम सुनचाँदी पसलमा नक्कली सुनलाई सुनभन्दै बेच्न लागेका बेला महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीको टोलीले गुप्तालाई २ थान सिक्री सहित फेला पारी पक्राउ गरेको हो ।
साथै गुप्ताले काठमाण्डौं महाराजगञ्जस्थित जयलक्ष्मी सुनचाँदी पसल र ललितपुर सातदोबाटोस्थित ओमलक्ष्मी सुनचाँदी पसलमा अन्दाजी १–१ तोलाको सुन जस्तो देखिने पहेंलो धातुको सिक्रीहरू बिक्री गरिसकेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीउपर ठगी आपराधिक बिश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगंजले जनाएको छ ।


