काठमाण्डौं । काठमाण्डौं महानगरपालिका १६ गंगाहल नजिक सडकमा बिहीबार बिहान भएको सवारी दुर्घटना (हिट एण्ड रन)का चालक धादिङ सिद्धलेख गाउँपालिका ४ घर भएका २९ वर्षीय प्रदिप थपलियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ठक्करबाट गम्भीर घाइते भएका काठमाण्डौं तारकेश्वर नगरपालिका १० मनमैजु बस्ने रसुवा कालिका गाउँपालिका ५ घर भएका १८ वर्षीय बिकाश तामाङ र काठमाण्डौं महानगरपालिका १६ जागृती टोल बस्ने ५५ वर्षीया दुर्गामाया थापाको जनमैत्री अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।
दुर्घटना गरी फरार रहेको सवारी साधन र चालकलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा धादिङबेशीबाट नियन्त्रणमा लिएको थियो ।
बागमती प्रदेश ०१–००५ ख ९३१४ नम्बरको धादिङ–काठमाण्डौं रुटमा चल्ने बस सहित र सो का चालकलाई आज पक्राउ गरी महानगरीय प्रहरी वृत्त बालाजुमा ल्याइएको हो ।
घटना सम्बन्धमा महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाण्डौंले जनाएको छ ।


