उदयपुर । उदयपुरको सिरुवानी क्षेत्रबाट ४०० केजी गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलका नगरपलिका ८ सिरुवानीस्थित सडकबाट करिब ४०० केजी अवैध लागूऔषध गाँजा र नगद ६३ हजार २५ रुपैयाँ सहित बेलका नगरपालिका ८ बस्ने २७ वर्षीय गोकुल राई लगायत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
अवैध लागूऔषध गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीको टोलीले को. १ ज २७६१ नम्बरको महेन्द्र पिकअप गाडी चेकजाँच गर्ने क्रममा गाडीमा लुकाई ल्याएको उक्त परिमाणको गाँजा सहित गाडीका चालक समेत रहेका राई र अन्य २ जनालाई पक्राउ गरेको उदयपुर प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेको र गाँजा कहाँबाट आयात गरिएको हो भन्ने बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ ।


