दैलेख । ढुङगेश्वर गाउँपालिका १ स्याउली बजारबाट करिब २१ किलो ७२५ ग्राम चाँदीको वस्तुबाट बनेका बिभिन्न किसिमका गरगहना सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कैलाली घर भई दाङ तुल्सीपुर उपमहानगरपालिका १७ बस्ने डम्बरप्रसाद ढुंगाना र कैलाली टिकापुर नगरपालिका ९ घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका ४ एरिचोक बस्ने २६ वर्षीय दिपक पाण्डे रहेको दैलेख प्रहरीले जनाएको छ ।
सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे. १ च ३२१३ नम्बरको बलेरो गाडीलाई जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा उक्त परिमाणको चाँदीका गरगहना फेला पारी गाडीमा सवार डम्बर र गाडीका चालक दिपकलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट करिब १ लाख ६३ हजार ४८९ मूल्य बराबरका पोते, पत्थरहरु, गहना राख्न प्रयोग हुने डिब्बाहरु लगायतका सामानहरू समेत बरामद गरेको छ ।
उनीहरूलाई बरामद सामान सहित आवश्यक कारबाहीका लागी राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।




















