काठमाण्डौं । आफूलाई प्रहरी हुँ भन्दै नगद र मोबाइल लुटपाट गरेको अभियोगमा काठमाण्डौं गोकर्णेश्वर नगरपालिका ३ सुन्ताखान घर भएका २७ वर्षीय सुजन मिश्रलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौं महानगरपालिका ६ कुशल ब्याङ्केट अगाडि २ जना ब्यक्तिहरु चिया पसलमा चिया खाई रहेको अवस्थामा आफूलाई प्रहरी बताउने २ जना ब्यक्तिहरुले धाक धम्की दिई निजहरुलाई लागूऔषध कारोबारी भएको भनी बौद्धस्थित एक होटलको कोठामा लगि नगद ६० हजार रुपैयाँ र २ थान मोबाइल लुटि लगेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न सुजनलाई पक्राउ गरेको हो ।
प्रहरीले सुजनको साथबाट नगद १० हजार रुपैयाँ, २ थान मोबाइल र सुजन मिश्रको नामको राष्ट्रिय अनुसन्धान बिभागको सहायक सूचक पदको परिचय–पत्र १ थान समेत बरामद गरेको जनाएको छ ।
उनी उपर चोरी तथा डाँका सम्वन्धी कसूर अन्तर्गत काठमाण्डौं जिल्ला अदालतबाट ७ दिन म्याद थप थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



