धनुषा । जनकपुर उपमहानगरपालिका ६ महाराज सागर पोखरी छेउबाट अन्दाजी ७ महिनाको बालकको अपहरण घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गणेशमान चारनाथ नगरपालिका १० डुमरीया बस्ने ३५ वर्षीया मनिषादेवी मुखिया, औरही गाउँपालिका १ पौडेश्वर घर भई हाल जनकपुर उपमहानगरपालिका ८ डेरा गरी बस्ने २० वर्षीया किरण राम र जनकपुर उपमहानगरपालिका ७ भ्रमपुरा डेरा गरी बस्ने महोत्तरी लोहारपट्टी नगरपालिका ४ घर भएका २२ वर्षीय कृष्णकुमार यादव रहेको प्रहरीले जनाएको छ ।
पोखरी छेउमा ६ वर्षीया दिदीले खेलाई रहेको अवस्थामा ती बालकलाई अन्दाजी ३५ वर्षीया महिलाले लिएर भागेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरीले जनकपुर उपमहानगरपालिका १९ बेंगा शिवपुर पिपराढीस्थित हाँस तथा भैसी फारमको पछाडी खेतमा मनिषा देवी मुखियालाई भाग्दै गरेको अवस्थामा ती बालक समेत २ वटा बच्चा सहित फेला पारी पक्राउ गरेको धनुषा प्रहरीले जानकारी दिएको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा मनिषा देवीले बालककी दिदीलाई ५० रुपैयाँ दिई कुरकुरे किन्न पठाई बच्चा लिई भागेको खुल्न आएको पनि प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


