काठमाण्डौं । भुटान सरकारले निर्वासित गरेका एक सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’को ट्रेलर सार्वजनिक भएको छ । यो वृत्तचित्र भूतपूर्व क्याप्टेन बुद्धबिर सुब्बाको वास्तविक जीवन भोगाइको घटनामा आधारित छ ।
क्याप्टेन सुब्बाले देशको सार्वभौमिकताको लागी जीवनभर परिश्रम गरेर सबैकुरा दिए तर अन्त्यमा कसरी तत्कालिन भुटान सरकारले उनलाई निर्वासित गर्यो भन्ने कुराको रहस्य उद्घाटन स्वयम् क्याप्टेन सुब्बा र उनका परिवारजनले यस वृत्तचित्र मार्फत गरेका छन् ।
फ्याम्ली प्रोडक्शनको निर्माणमा तयार पारिएको यस वृत्तचित्र नेपालीभाषी भुटानी शरणार्थी जीवनका बारेमा बुझ्न चाहाने जोकोहीले एकपटक हेर्नेपर्ने हुन्छ। बि.एम. खालिङको खोज र लेखन रहेको यस वृत्तचित्रमा गायक एवम् संचारकर्मी रविन शर्माको न्यारेशन रहेको छ ।
कमल राईको छायाँकन र सम्पादन रहेको यस वृत्तचित्रलाई राजु सुब्बाको कन्सेप्टमा तयार पारिएको हो । असल टिभी नामक युट्युव च्यानल मार्फत ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर अंग्रेजी र नेपाली भर्सनमा सार्वजनिक गरिएको छ ।
पुरा वृत्तचित्र छिट्टै नै सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।


