काठमाण्डौं । काठमाण्डौं, झापा र कैलालीबाट अवैध लागूऔषध सहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौं महानगरपालिका ३२ नरेफाँट मनोहरा करिडोरबाट सर्लाही घर भएका २० वर्षीय अर्जुन मण्डल लगायत २ जनालाई ३०० एम्पुल नुर्फिन, ३०० एम्पुल फेनारगन र ३०० एम्पुल डाइजेपाम सहित शनिबार राती प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीको टोलीले उनीहरूको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको प्रभागले जनाएको छ ।
काठमाण्डौंकै चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ६०० एम्पुल डाईजेपाम, ६०० एम्पुल फेनारगन र ६०० एम्पुल नुर्फिन सहित रौतहट ईस थान गाउँपालिका ९ बस्ने २१ वर्षीय संजय कुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहटबाट काठमाण्डौंतर्फ आउँदै गरेको ना. ७ ख ४७४९ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाइन्टमा खटिएको प्रहरीको टोलीले चेकजाँच गर्नेक्रममा संजयले झोलाभित्र लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
उता झापाको मेचीनगर नगरपालिका १५ कालिका टि–स्टेटबाट १५ ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका मैनागढी गाउँ बस्ने २७ वर्षीय रन्जित गणेश र भारत दार्जिलिङ बस्ने २५ वर्षीय मोहम्मद सुल्तान रहेको झापा प्रहरीले जनाएको छ ।
प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरी बल बिओपी ज्यामिरगढीबाट गस्तीमा खटिएको संयुक्त प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै गरी, कैलालीको गौरीगंगा नगरपालिका १० उदासिपुरबाट ४ केजी ५०० ग्राम अवैध लागूऔषध चरेस सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ४५ वर्षीय मान बहादुर धामी र ३२ वर्षीय बिर्ख धामी रहेका छन् । से. २ प ४११५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय मसुरीयाबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ ।
पक्राउ परेको सबैका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।


