काठमाण्डौं । ठगी मुद्दाका फरार प्रतिवादी काठमाण्डौं महानगरपालिका १५ स्वयम्भू बस्ने ४८ वर्षीय पञ्चमान महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । साईनिङ स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका लेखा समिति संयोजक समेत रहेका महर्जनलाई प्रहरीले पक्राउ गरको हो ।
काठमाण्डौं जिल्ला अदालतको २०७३ असार १९ गतेको फैसलाले ठगी मुद्दामा ६ महिना कैद र ३५ लाख ६८ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीको टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो ।
उक्त संस्थामा जम्मा गरेको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार ४७८ रुपैयाँ जाहेरवालाहरुलाई फिर्ता नदिई सो संस्थाका पदाधिकारीहरु र संचालकहरुलाई आर्थिक लाभ हुने गरी तोकिएको प्रयोजन वाहेकको ब्यापारिक कारोबार र आफन्तका नाममा जग्गा खरिद गरी ठगी गरेको भन्ने मुद्दामा महर्जन समेतले ऋण प्रवाह तथा असुली गर्दा त्रुटी गरेकोले ठगीमा संलग्न भएको ठहर गर्दै उनीउपर अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाण्डौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।


