काठमाण्डौं । राजधनीको विभिन्न स्थानबाट प्रहरीले करिब २१ हजार क्याप्सुल नियन्त्रित औषध सहित ५ जनालाई नियन्त्रणमा लिन सफल भएको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीको टोलीले राजधानीको विभिन्न स्थानबाट २० हजार ८१५ क्याप्सुल सहित ५ जनालाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाण्डौं सिफल बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका १ घर भएका २५ वर्षीय सुनिल भन्ने निमा दोर्जे शेर्पा, काठमाण्डौं गोकर्णेश्वर बस्ने बझाङ चैनपुर नगरपालिका ८ घर भएका २९ वर्षीय उमेश कुमार केसी र काठमाण्डौं चाबहिलस्थित कल्याणकारी मेडिकल हलका संचालक संखुवासभा पाँचखपन गाउँपालिका ७ घर भएका ३० वर्षीय पेम्वा शेर्पालाइ प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै गरी, नुवाकोट म्यगङ गाउँपालिका ५ घर भएका ३४ वर्षीय राजाराम दवाडी र काठमाण्डौं टोखा बस्ने लमजुङ मध्यनेपाल नगरपालिका १ ठेगाना भएका ३८ वर्षीय बद्रिनाथ पौडेललाइ पनि प्रहरीले नियन्त्रीत औषधी सहित पक्राउ गरेको जनाएको छ ।
उनीहरूमध्ये निमाबाट ११५ ट्याब्लेट ट्रामाडोल र उमेशकुमारबाट २० हजार ७०० क्याप्सुल ट्रामाडोल बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर जनाएको छ ।
साथै पेम्वा शेर्पाबाट २९० ट्याब्लेट लोबाजाम, १५३ ट्याब्लेट लोरी, १०० ट्याब्लेट निट्रेस्ट, ९० ट्याब्लेट जोलियुम, २७५ ट्याब्लेट कोडोट्याब, ३९० ट्याब्लेट क्लोजिप क्लोजिप, १४ ट्याब्लेट क्लोप्रियुम, ५१८ ट्याब्लेट पाज, २८५ ट्याब्लेट क्लोनाज, ३० ट्याब्लेट स्टागन र ५० ट्याब्लेट कोफटाब बरामद गरिएको हो ।
राजारामबाट बा. ११ च १०१४ नम्वरको भ्यानमा ल्याएको १८० ट्याब्लेट लेभोनोरजेस्ट्रेल, ९० ट्याब्लेट अन्वान्टेड लेभोनोरजेस्ट्रेल, ८५० थान सफ्टजेल क्याप्सुल, ६७२ ट्याब्लेट बर्थ स्पेसिङ पिल्स, ३० वटा ल्याबोडर्म, १८४ ट्याब्लेट जेनेग्रा, १६० ट्याब्लेट जेनेग्रा रेड र ९० ट्याब्लेट प्रेगौट किक तथा बद्रिनाथ पौडेलबाट नगद १ लाख ४० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
उपत्यकामा नियन्त्रित लागूऔषध ट्रामाडोलको अबैध कारोबार भइरहेको भन्ने ब्यापक जनगुनासो पछि लागू औषध नियन्त्रण ब्यूरो तथा औषधी ब्यबस्था बिभाग बिजुलीबजारबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बरामद औषधी, सवारी साधन र नगद सहित उनीहरूलाई आबश्यक कानुनी कारबाहीको लागि औषधी ब्यबस्था बिभाग बिजुली बजार पठाईएको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।


