विराटनगर । मोरङको २ वटा कुखुरा फर्ममा बर्ड फ्लू देखिएको छ । जिल्लाको ग्रामथान गाउँपालिका र बुढीगंगा गाउँपालिकामा रहेको १–१ वटा फर्ममा बर्ड फ्लू देखिएको हो ।
ग्रामथान गाउँपालिका १ को खुनियाकट्टा र बुढीगंगा ५ मा रहेको लेयर्स कुखुरा फर्मका कुखुरामा बर्ड फ्लू देखिएको हो । बर्ड फ्लू देखिएपछि दुवै स्थानका कुखुरा नष्ट गरिएको छ ।
थप २ स्थानमा पनि बर्ड फ्लूको आशंका गरिएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल जानकारी दिए । ग्रामथान १ मै रहेको कृषि फर्म र कटहरी गाउँपालिका ७ मा रहेको फर्मका कुखुरा मरेपछि बर्ड फ्लूको आशंका गरिएको हो ।
बुढीगंगामा रहेको फर्मममा ५ हजार कुखुरामध्ये ३ हजार ५०० कुखुरा मरेपछि जाँच गर्दा बर्ड फ्लू देखिएको थियो । बर्ड फ्लू देखिएपछि लेयर्स कखुराको फर्ममा रहेका कुखुरा नष्ट गरिएको हो ।
बर्ड फ्लू देखिएपछि स्थानीय प्रशासनले कुखुरा र पन्छीको आयात निर्यातमा कडाइ गरेको छ ।


