बारा । बाराको प्रसौनी गाउँपालिका २ स्थित शुभ श्री मोबाइल पसल फुटाई मोबाइल चोरी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका १ प्रसौनी टोल बस्ने २४ वर्षीय बिशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र सोही गाउँपालिका ४ खटुवा टोल बस्ने २३ वर्षीय रम्तुलाह अंसारी रहेको बारा प्रहरीले जनाएको छ ।
उक्त पसलबाट कम्पनीका मोबाइलहरु चोरी भएको जानकारी पाएको प्रहरीले अनुसन्धानको क्रममा बिशाल मुखियाको घर तलासी गर्दा उनी सुत्ने खाट मुनि ३ वटा झोलामा लुकाई राखेको विभिन्न कम्पनीको ९४ थान मोबाइल सेट, ब्याट्री, चार्जर, राउटर र सोही घरको पहिलो तलामा रहेको चामलको बोराभित्र लुकाई राखेको ६ किलोग्राम अवैध लागूऔषध गाँजा समेत फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर डाँका चोरी मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


