दैलेख । जिल्लामा आरोपित व्यक्तिको मृत्यु पछि अदालतले जन्मकैदको सजाय फैसला गरेको छ । कर्तव्यज्यान मुद्दा चलिरहेका डुंगेश्वर गाउँपालिका १ बेलपाटाका शेरबहादुर बिष्टलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए ।
तात्कालीन डुङ्गेश्वर गाउँपालिका २ की (घटनाका बेला) २५ वर्षीया डिलकुमारी बिकलाई हत्या गरेको कसूरमा जिल्ला अदालत दैलेखले बिष्टलाई जन्मकैदनको सजाय तोकेको हो । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले कसूरदार बिष्टलाई २० वर्ष कैद हुने फैसला गरेको हो ।
जीवित छँदा गरेको अपराधमा सजाय गर्नु परे पनि ‘अपराधीको मृत्युसँगै अपराध पनि मर्दछ’भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त अनुसार सजाय असुल गर्न नपर्ने ठहर्ने फैसलामा व्याख्या गरिएको छ । २१ वर्ष अघि ०५७ फागुन २६ गते बलात्कारपछि हत्या गरेको भन्ने आरोपमा ०७७ पुस ३ गते जिल्ला अदालतमा दर्ता भएको अभियोगमा मुद्दाको तहकीकात चलिरहेकै बेला बिष्टको ७५ वर्षको उमेरमा २०७८ जेठ २८ गते मृत्यु भएको थियो ।
घटनाको भोलिपल्टदेखि नै फरार भएका बिष्ट सिकिस्त बिरामी अवस्थामा २०७७ असोजदेखि सुर्खेतमा बस्दै आएका थिए । घटनाको २० वर्ष पुग्न लागेको कारण जनाउँदै प्रहरीले मुद्दा जगाएर बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकील कार्यालयले २०७७ पुस ३ गते जिल्ला अदालतमा कर्तव्य ज्यान सम्वन्धी अभियोग दर्ता गराएको थियो ।
घटना हुँदा ५४ वर्ष उमेरका बिष्ट त्यस लगतै फरार रहेका, सधैं मदिरा सेवन गरिरहने, महिलाहरुसँग जिस्किने स्वभाव भएका कारण बलात्कारपछि कसूरदार बिष्टले नै मृतक डिलकुमारी बिकलाई हत्या गरेको हुनसक्ने प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।
चुप्रा बजारमा चामल किनेर घर फर्किने क्रममा साँझ पानी पीउन भनी बाटोमा पर्ने उनै बिष्टको घरमा केही समय रोकिएकी डिलकुमारी ३ दिनपछि बिष्टको घर नजिकै सेरा खोल्सामा खिर्रोको रुखमा नाम्लोले झुण्ड्याएको अवस्थामा फेला परेकी थिइन् ।
घटनापछि बिष्टले नै हत्या गरेको भन्दै श्रीमान् जीतबहादुर बिकले प्रहरीमा जाहेरी दिएका थिए । हत्या गरिएको भनिएकी डिलकुमारी बिक उतिबेला २५ वर्षकी थिइन् ।


