काठमाण्डौं । पछिल्ला केही दिनयता देशभरको मौसम बदली भइरहेको छ । हुस्सु, कुहिरोले गर्दा देशका अधिकाश भागहरु चिसिएको छ । यो क्रम अझै केही दिन जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शनिबार काठमाण्डौंलगायत केही स्थानमा मौसम सुधार हुने सम्भावना रहेता पनि आइतबारबाट पुनः बदली हुने छ । पछिल्लो समय देशभरको तापक्रम घटेको र यो क्रम केहीदिन जारी रहने छ ।
हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेकाले देशको पहाडी भू–भागमा आंशिक बदली रही तराइका केही भू–भागमा हुस्सु कुहिरो लागेको छ।
शुक्रबार दिउँसो प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ तथा वााग्मती प्रदेशको पहाडी भू–भागका १–२ स्थानमा हल्का वर्षाको र सोही क्षेत्रको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, शनिबार दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।
उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


