काठमाण्डौं । नेपाल सरकारको मुख्य एपको रुपमा रहेको नागरिक एपको नयाँ अपडेट सार्वजनिक भएको छ । नयाँ अपडेटमा कोभिड खोपको लागि आवेदन भर्न सकिने र क्यूआर कोड सहितको खोपकार्ड लिन सकिने फिचर आएको हो ।
बिहीबार रातिदेखि एन्ड्रोइडमा नागरिक एपको अपडेटेड भर्सन १.४.८ आइसकेको छ । आईओएसमा भने अपडेट पठाइसकेको भए पनि रिलिज हुन केही दिन लाग्ने भएको छ ।
नागरिक एपबाट आवेदन दिएको १२ देखि २४ घण्टाभित्र स्वास्थ्य सेवा विभागको परिवार महाशाखाबाट स्वीकृत हुने बताइएको छ । त्यसपछि नागरिक एपबाटै पीडीएफमा क्यूआर कोड सहितको कोरोना खोपकार्ड डाउनलोड गर्न सकिनेछ ।
क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्रका लागि अनलाइन आवेदन दिन नागरिकता, पासपोर्ट, ड्राइभिङ लाइसेन्स आदि मध्ये आफ्नो परिचय खुल्ने प्रमाण, खोप कार्ड, पासपोर्ट साइजको फोटो लगायतको विवरण खुलाउनुपर्ने हुन्छ ।
तर कोभिड–१९ को भ्याक्सिन कार्डमा स्थानीय तहको नाम, खोप केन्द्रको नाम र छाप प्रष्ट बुझिने नभएमा क्यूआर कोड भेरिफाइ हुँदैन । यदि त्यस्तो प्रकारको खोप कार्ड छ भने तुरुन्त आफूले खोप लगाएको खोप केन्द्रमा सम्पर्क गर्नुपर्नेछ ।
नागरिक एपबाटै आफ्नो क्यूआर कोड सहितको सर्टिफिकेट प्रमाणित भए नभएको थाहा पाउन समेत सकिन्छ । तर फर्जी कागजपत्र अपलोड गरेको भेटिएमा सरकारले कानूनी कारबाही गरिने जनाएको छ ।


