गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक सेवाबाहेकका अन्य सेवाहरु स्थगन गरेको जनाएको छ । प्रशासनले सूचना जारी गर्दै कोरोनाका कारण कार्यालयमा कार्यरत कर्मचारी संक्रमित भई आइसोलेसनमा उपचाररत रहेकाले अत्यावश्यक सेवाबाहेकका अन्य सेवाहरु स्थगन गरेको जनाएको हो ।
प्रशासनले माघ ११ गते मंगलबारदेखि लागू हुने गरी अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अत्यावश्यकीय सेवा बाहेकका अन्य सेवाहरु स्थगन गरिएको जनाएको छ ।
कार्यालयमा सेवाग्राहीको भीडभाड उच्च रहने भएको र संक्रमणको जोखिम बढ्ने अवस्थालाई मध्यनजर गर्दै कार्यालयबाट प्रवाह गर्दै आएको सेवा बन्द गरिएको हो ।
अत्यावश्यक सेवा लिन आउनुहुने सेवाग्राहीले माघ ७ मा जारी भएको सूचनामा उल्लेख भएबमोजिम खोपकार्ड देखाउन र स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुहुन अनुरोधसमेत गरिएको छ । जिल्लामा हिजोसम्म २८८ जना सक्रिय संक्रमित रहेका थिए ।


