पर्सा । जगरनाथपुर गाउँपालिका ६ बस्ने नागेसरप्रसाद कुर्मीको छोरा १२ वर्षीय मन्टुप्रसाद कुर्मीको हत्याको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका ६ बस्ने ६४ वर्षीय गोवारीराउत अहिर, ५५ वर्षीय नगराउत अहिर, ३२ वर्षीय शत्रुधनप्रसाद यादव, ३० वर्षीय मनमोहनप्रसाद यादव र २५ वर्षीय रोहनप्रसाद यादव रहेका छन् ।
जगरनाथपुर गाउँपालिका ६ स्थित ऊखु खेतमा गत पुस २३ गते दिउँसो मन्टुको हत्या भएको अवस्थामा शव फेला परेको र घटनाको अनुसन्धानको क्रममा उनीहरुको संलग्नता रहेको देखिए पछि खोजतलास गर्ने क्रममा भारतीय सिमाबाट पक्राउ गरएिको थियो ।
ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीको टोलीले छिपहरमाई गाउँपालिका ६ भिष्वास्थित नेपाल भारत सीमाबाट हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
उनीहरु उपर अपहरण तथा कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




















