गुल्मी । गुल्मीमा शुक्रबार भएको बोलेरो जीप दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका वडा ९ दलकामा ५ः३० बजेतिर लु. १ च ७२९८ नम्बरको जीप दुर्घटनामा परेको थियो ।
दुर्घटनाका घाइतेमध्ये मुसिकोट नगरपालिका ९ उर्लेनीका ५५ वर्षीय काले कामीको उपचारको क्रममा शुक्रबार राति ११ः३० बजे पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुम्मीले जनाएको छ ।
दुर्घटना घाइतेमध्ये बेहुला २१ वर्षीय प्रकाश विक र २० वर्षीया सबिना विकको पाल्पामा उपचार भइरहेको छ भने २६ वर्षीया रमिला विक र १३ वर्षीय सुरेन्द्र विकको पनि पाल्पामै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परी मुसिकोट ९ का २० वर्षीया सविना विक र ५४ वर्षीय सन्तविर विक, जीप चालक २७ वर्षीय शंकर परियार, ५८ वर्षीय रिखे विक गम्भीर घाइते भएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
उनीहरूलाई जिल्लास्थित अस्पतालहरूमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पा पठाईएको छ ।
बेहुला–बेहुली तथा आफन्तसहित बाग्लुङको हरिचौरस्थित बेहुलीको माइती जाँदै गर्दा पानी परेका कारण बाटो चिफ्लो भएकोले दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।
उनीहरू बिहेको दोस्रो दिन माइतीमा ढोगभेट फुकाउन भनेर जाँदै गर्दा दुर्घटनामा परेका थिए ।


