काठमाण्डौं । पुरातात्विक महत्वका सामग्रीहरु चोरी गरेको अभियोगमा प्रहरील २ जनालाई काठमाण्डौं महानगरपालिका २६ केशरमहलबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाण्डौं बसुन्धरा बस्ने दाङ तुल्सिपुर उपमहानगरपालिका ३ घर भएका १८ वर्षीय किशोर र काठमाण्डौं केशरमहल बस्ने रुकुम पश्चिम मुसिकोट नगरपालिका ११ घर भएका ३६ वर्षीय बीरबहादुर सुनार रहेको महानगरी प्रहरीले जनाएको छ ।
२०७२ सालको बिनाशकारी भूकम्पले क्षतिग्रस्त भई प्रबलिकरणको कार्य भइरहेको केशरमहलभित्र केशर पुस्तकालयको ठुलो कोठाभित्र सङ्कलन गरी राखिएको पुरातात्विक महत्वको अस्थाई रूपमा सूचिकरण गरिएको बाघको टाउकोको नम्बर २६, २ थान तरवार समेत चोरी भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले काठमाण्डौं महानगरपालिका २६ केशरमहलमा बोरामा राखी फालेको अवस्थामा २ थान तरवार र ३ किलो तौल भएको बाघको टाउको जस्तो देखिने १ थान बस्तु बुधबार दिउँसो फेला पारेको थियो ।
अनुसन्धानको क्रममा उक्त सामग्रीहरु चोरी कार्यमा संलग्नता देखिए पछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेको दुवैलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त दरबारमार्ग काठमाण्डौं पठाइएको तथा चोरीमा संलग्न हाल फरार अन्य व्यक्तिहरुको समेत खोजी भइरहेको महाशाखाले जनाएको छ ।



