काठमाण्डौं । मन्त्रीपरिषद्को बैठकमा सहभागी हुन बालुवाटा पुगेका शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री देवेन्द्र पौडेललाई गेटैबाट फर्काइएको छ । बैठकमा सहभागी हुनु अघि गरिएको एन्टिजेन परीक्षणमा मन्त्री पौडेलको नतिजा पोजेटिभ देखिएपछि उनलाई फर्काइएको हो ।
पौडेललाई ६ दिन अघि पनि शुरुमा पोजेटिभ देखिएको र त्यसको लगत्तै केही बेरपछि गरिएको परीक्षणमा गेटिभ आएपछि मन्त्री पौडेल मन्त्रालय आउन थालेका थिए । मन्त्री पौडेललाई पुनः आज पोजेटिभ देखिएको छ ।
बैठकमा सहभागी हुने सबैको प्रधानमन्त्री कार्यालयको गेटमा एन्टिजेन परीक्षण गरिएको थियो । मन्त्री पौडेललाई पोजेटिभ देखिएपछि सँगै शिक्षा सचिव यादव कोइराला, मन्त्रालयका प्रशासन महशाखा प्रमुख युवराज सुवेदी, सह सचिव एवं प्रवक्ता दीपक शर्मालाई पनि कोरोना देखिएको मन्त्रालय स्रोतले जनाएको छ ।


