काठमाण्डौं । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज उमेदवारको विरोधमा आज उजुरी दिन सकिने छ । निर्वाचन कार्यतालिका अनुसार पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गरीने भएको छ ।
पुस २३ गते नै उमेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उमेदवारले नाम फिर्ता लिने र पुस २५ गते उमेदवारको अन्तिम नामावली प्रकाशन तथा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।
माघ १२ गते हुने निर्वाचनका लागि गठबन्धन र एमालेका गरी ४३ जनाको उमेदवारी परेको छ । मंगलबार १९ सिटका लागि ४३ जनाको उमेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाले उमेदवारी दर्ता गराएका छन् ।


