काठमाण्डौ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज देशका धेरै ठाउँमा मौसम बद्ली हुने संभावना देखिएको छ । आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातको सम्भावनासँगै यी प्रदेशका केही ठाउँमा हल्का बर्षा समेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
आज दिनभरजसो पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पर्ने देखिएको छ । राति पनि यी नै प्रदेशमा हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिहिबार काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा पनि हल्का बर्षा हुने अनुमान गरिएको छ । यस्तै, शुक्रबार पनि मौसम बद्ली भइ केही स्थानमा बर्षा हुने अनुमान महाशाखाले गरेको छ ।
वर्षा र हिमपातको सम्भावना रहेकाले सबैमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।




















