काठमाण्डौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट हरर फिल्म ‘कठपुतली’ प्रदर्शनमा आएको छ । फिल्म देशभरका चलचित्र घरबाट एकसाथ प्रदर्शनमा आएको हो ।
बिहीबार नै रिलिजको तयारीमा रहेको अर्को फिल्म ‘चपली हाइट ३’ अन्तिम समयमा सरे पछि ‘कठपुतली’ प्रदर्शनको लागि अवसर मिलेको हो ।
फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय देख्न सकिन्छ । भिमसेन लामा निर्देशित फिल्ममा अभिनेता कर्माको वरिपरि मूल कथा घुमेको फिल्म विविध परिस्थितिका कारण एक राजकुमारले एक विकट ठाउँको दरबारभित्र सामना गर्नुपरेका रहस्यका कथा देखाउन खोजिएको निर्माण कम्पनीले जनाएको छ ।
पृथ्वी रानामगरको निर्माण, सम्पदा मल्लको लेखन रहेको फिल्म अस्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेका हुन् । फिल्मको सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् ।




















