काठमाण्डौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । १४औँ महाधिवेशनबाट देउवा सभापतिको दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।
देउवाले कांग्रेस सभापतिको दोस्रो कार्यकाल सञ्चालनका लागि भएको मतदानमा नेपाली कांग्रेसका कुल महाधिवेशन प्रतिनिधि मध्ये २ हजार ७३३ मत प्राप्त गर्न सफल भएका छन् ।
देउवाका निकटम प्रतिद्वन्दी डा.शेखर कोइरालाले भने १ हजार ८५५ मत प्राप्त गरेको निर्वाचन मण्डलले जनाएको छ ।
मंगलबार राति सम्पन्न भएको दोस्रो चरणको मतदानमा ४ हजार ६२३ प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गरेका थिए, जसमा ३५ मत बदर भएको थियो ।
दोस्रो चरणमा प्रवेशसँगै सभापतिका तीन प्रत्यासी प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङको समर्थन पाएपछि देउवाको जित सुनिश्चत भएको थियो ।


