काठमाण्डौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिको निर्वाचनका लागि दोस्रो चरणको मतदान हुने भएको छ ।
दोस्रो चरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको हो ।
सभापति पदमा ५ जनाको उम्मेदवारी परेका मध्ये शेरबहादुर देउवा पहिलो स्थानमा रहे पनि निर्वाचित हुन आवश्यक ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकका कारण पुनः मतदान हुने भएको हो ।
निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार अब निर्वाचन समितिको बैठक बसेर दोस्रो चरणको निर्वाचन कहिले गर्ने निर्णय हुने छ।
मङ्गलवार बिहान ४ बजेबाट सुरु भएको मतगणनाको नतिजा अनुसार शेरबहादुर देउवाले २ हजार २५८, डा.शेखर कोइराला १ हजार ७२९, प्रकाशमान श्रेष्ठ ३७१, विमलेनद्र निधी २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् ।
मतदानमा ४ हजार ६८१ मत खसेको थियो । केही मत बदर समेत भएको छ ।
केन्द्रीय समितिको १३४ पद मध्ये १३२ पदमा निर्वाचन भएको थियो । २ जना भने निर्विरोध निर्वाचित भइसकेका छन् ।
१४ पदाधिकारीमा सभापतिबाहेक २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र १ कोषाध्यक्ष चयन हुनेछन् ।
कोषाध्यक्ष भने केन्द्रीय सदस्यमध्येबाट एकजनालाई सभापतिले सिफारिस गर्ने अनि केन्द्रीय समितिले अनुमोदन गर्ने व्यवस्था छ ।
खुलातर्फ ३५ केन्द्रीय सदस्यको निर्वाचन हुनेछ भने बाँकी प्रादेशिक प्रतिनिधित्व एवं समावेशी प्रतिनिधित्व हुनेगरी चयन गरिँदैछ ।
कुल १६७ सदस्यीय केन्द्रीय समितिमध्ये २० प्रतिशत अर्थात् ३३ वटा पदमा सभापतिले मनोनित गर्न पाउँछन् ।




















