चितवन । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारी पाएको चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा आज पदाधिकारी र केन्द्रीय सदस्यको सूची आज सार्वजनिक गर्ने भएका छन् ।
शनिबार पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिम्मा पाएका ओलीले आइतबार बिहान १०ः०० बजे बन्द सत्रमा सूची सार्वजनिक गर्ने भएका हुन् ।
पदाधिकारी र केन्द्रीय सदस्य थप्ने जिम्मा अध्यक्ष ओलीलाई दिने प्रस्ताव महाधिवेशनको दोस्रो बन्द सत्रले पारित गरेपछि पार्टी उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले भने असन्तुष्टि जनाएका छन् ।
१९ पदाधिकारी थपिएसँगै अब एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनेको छ ।
विश्वस्त स्रोतका अनुसार ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम राखेका छन् । ओलीको निकै नै विश्वासीलो पात्र पोखरेललाई पहिलो रोजाइमा राखेको स्रोतले जनाएको छ । त्यस्तै, ओलीले उपाध्यक्षको सूचीमा विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा बादल, लालबाबु पण्डित, रघुवीर महासेठ, घनश्याम भुसालको नाम राखेका छन् ।
उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र योगेश भट्टराईको नाम राखिएको पनि स्रोतले जनाएको छ । पार्टी विभाजन हुँदा एमालेमै रहेकाले ओलीले भट्टराईको नाम महासचिवमा राखेका हुन् ।
एमालेमै रहेपछि ओलीले भट्टराईलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी पनि दिएका थिए ।




















