विराटनगर । विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचाररत एक बिरामीले अस्पतालबाट हामफालेर आत्महत्याको प्रयास गरेका छन् ।
शुक्रबार बिहान ६ः०० बजे मोरङको धनपालथान गाउँपालिका १ का ३५ वर्षीय शिवकुमार मण्डलले अस्पतालको ३ तलामाथिबाट हामफालेर आत्महत्याको प्रयास गरेको मोरङ प्रहरीले जनाएको छ ।
मण्डलको टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको अहिले पनि सोही अस्पतालमा उपचार भईरहेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार छारे रोगका मण्डललाई आइसियूमा राखेर अस्पतालले उनको उपचार गरेको थियो ।
उपचारवापतको १९ हजार रूपैयाँ तिर्न नसक्दा मण्डललाई परिवारले घर लैजान नसक्दा उनले आत्माहत्याको प्रयास गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
उनलाई अस्पतालमा कुर्न बसेका सासू शौचालय गएका बेला मण्डलले अस्पतालबाट हामफालेका थिए । अस्पताल प्रशासनका अनुसार मण्डलको उपचारमा ३६ हजार रूपैयाँ खर्च भएको छ ।


