काठमाण्डौं । देशभर चिसोको मात्रा बढिरहेकाको भन्दै पूर्वानुमान महाशाखाले जोगिन अनुरोध गरेको छ ।
बिहीबार बिहान ६ः०० बजे मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै दिनदिनै चिसो बढेकोले चिसोबाट सबै सर्व साधरणलाई जागिन आग्रह गरेको हो ।
शाखाले जारी गरेको सूचनामा देशका प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहनुको साथै देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकाले आवश्यक सतर्कता अपनाउन समेत भनेको छ । तापक्रम घटेसँगै देशभर जाडो पनि बढेको छ ।
आज बिहानको काठमाण्डौं उपत्यकाको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका १–२ स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।


