पोखरा । पोखराको फेवाताल किनारमा रहेको १० वटा रेष्टुरेन्टमा आज बिहान आगलागी भएको छ । सोमबार बिहान करिब ४ बजे आगलागी भएको हो ।
पोखरा महानगरपालिका ६ स्थित फेवाताल किनारमा आगालागीमा परी १० वटा रेष्टुरेन्ट जलेर नष्ट भएका छन् भने करोडौंको धनमाल नष्ट भएको कास्की प्रहरीले जनाएको छ ।
आगलागीबाट लेकसाइडको फुटपाथ क्षेत्रमा रहेका १० वटा रेष्टुरेन्ट तथा पसलहरू जलेर नष्ट भएको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।
आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागीबाट मानवीय क्षति नभए पनि ठूलो धन सम्पतिको क्षति भएको छ ।
आगलागीका कारण सो क्षेत्रमा हालसालै मात्र सञ्चालनमा आएको ओल्ड ग्रयाभिटीमा ठूलो क्षति पुगेको छ । ग्रयाभिटीमा मात्र ६० लाख भन्दा बढीको नोक्सानी भएको अनुमान गरिएको छ ।
आगलागी भएसँगै उक्त स्थानमा रहेका ग्यासका सिलिन्डरहरु पड्किएपछि आगो अनियन्त्रित भएको थियो ।
३ घण्टा भन्दा बढीको प्रयसामा आगो नियन्त्रणमा आएको डिएसपी तिवारीले बताए ।




















