गोरखा । कोरोना महामारी केही मन्थर भए संगै अध्ययन र रोजगारीमा जानका लागी १ हजार ५०० भन्दा बढीले राहदानीको लागी आवेदन पेश गरेका छन् ।
अंग्रेजी महिनाको नोबेम्बरबाट बैदेशिक रोजगारी र अध्ययनका लागी जाने पाउने भए पछि गोरखाको प्रशासनमा नेपाली राहदानी लिनका लागी १ हजार ५६४ जनाले आवेदद दिएको प्रमुख प्रशासकिय अधिकृत चुढानिधी तिवारीले जानकारी दिए । ‘हामीले यो आर्थिक बर्षको पहिलो ३ महिनामा मात्रै १ हजार ५६४ जनाको आवेदन लिएका छौ’ अधिकृत तिवारीले भने ।
राहदानी बनाउने मध्ये केहीले अमेरिकी भिजाको फर्म भर्न पनि राहदानी बनाएका हुन् । अहिले अमेरिकी (ईडिभी) भिजाको लागी पनि राहदानी अनिवार्य गरे पछि प्रशासनमा आवेदन दिनेको संख्या ह््वात्तै वढेको अधिकृत तिवारीले जानकारी दिए ।
प्रशासनले दिएको जानकारी अनुसार पहिलो ३ महिनामा मात्रै ९६५ जना पुरुष र ५९९ जना महिलाले राहदानी पाउनका लागी आवेदन दिएका छन् । जस मध्ये साउन महिनामा ११८ जना महिला र ३२८ जना पुरुष गरी ८४६ जना, भाद्र महिनामा २०४ जना महिला र २५७ जना पुरुष गरी ४६१ जना र कात्र्तिक महिनामा २७७ जना महिला र ३८० जना पुरुषले आवेदन दिएका थिए ।
यसका साथै राजधानीको परराष्ट्र मन्त्रालयबाट उपलब्ध गरिने द्रुत तर्फ पनि पहिलो ३ महिनामा ७६८ जनाले सिफारीस लिएर गएका छन् । द्रुत लिने तर्फ साउनमा ११२ जना महिला र २१७ जना पुरुष, भाद्र महिनामा ७७ जना महिला र १४५ जना पुरुष र असोज महिनामा ९९ जना महिला र ११८ जना पुरुषले प्रशासन कार्यालयबाट सिफारीस लिएर गएका छन् ।
जिल्लामा राहदानी लिन चाहने १ हजार ५६४ जनाबाट प्रशासनले ७८ लाख २० हजार राजश्व समेत संकलन गरेको छ ।
सामान्यतया दैनिक १० जनादेखी २० जनासम्मले राहदानीको लागी आवेदन दिने भएता पनि केही महिना यता प्रशासनमा आवेदन दिनेहरुको बिहानैदेखी भिड लागेको देखिन थालेको छ ।























