काठमाण्डौं । आज देशका केही स्थानमा बर्षा हुने र उच्च पहाडी तथा हिमाली भूमागमा हिमपातको सम्भावना रहेको छ ।
अरब सागरमा बनेको निम्न चापीय प्रभावका कारण उच्च हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावान रहेको र केही स्थानमा बर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका अधिकांश भू–भागहरुमा आज पनि बदली हुनेछ । मौसमी प्रणालीको प्रभावले देशका अधिकांश भू–भागहरुमा चिसो बढ्ने क्रममा रहेको र तुवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएकोको महाशाखाले जारी गरेको सूचनामा भनेको छ ।
तुवालोका कारण सडक र हवाइ यातायातमा समेत प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
आज दिउँसो कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भू–भागहरूमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका १÷२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा र अन्य प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा पनि हल्का हिमपातको सम्भावना जनाएको छ ।




















