एजेन्सी । आफु खुशी औषधी सेवन गर्ने १ लाखभन्दा बढी अमेरिकीले १ वर्षमा ज्यान गुमाएका छन् ।
अमेरिकामा प्रतिबन्धित औषधि फेन्टानाइल र नक्कली चक्की खाएकै कारण उनीहरुको ज्यान गएको स्वास्थ्य अधिकारीलाई उदृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।
यी औषधिको अनलाइनबाट बिक्री बढेको र त्यसले मानव स्वास्थलाई जोखिममा पारिरहेको स्वास्थ्यका विज्ञले जनाएका छन् ।
अमेरिकामा सन् २०२० अप्रिलदेखि सन् २०२१ अप्रिलसम्मको अवधिमा १ लाख ३०६ जनाको त्यस्ता औषधिको प्रयोग र ओभर डोजका कारण ज्यान गएको छ ।
अमेरिकामा हरेक ५ मिनेटमा ओभर डोजका कारण १ जनाको ज्यान जाने गरेको तथ्याङ्क समेत सार्वजनिक भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना महामारीसँग जुध्दै गर्दा औषधिको ओभर डोज विरुद्धका कदम चाल्न पनि उत्तिकै चुनौतीपूर्ण रहेको बताएका छन् ।
अमेरिकी स्वास्थ्य मन्त्री जाभियर बेसिराले यो सङ्कट निकै संवेदनशील क्षणमा पुगिसकेको र सबै मिलेर सामना गर्नुपर्ने बताएका छन् ।
अमेरिकी औषधि नियामक निकायले लागूपदार्थ मिसाइएका औषधि अनलाइनबाट बिक्री भइरहेको भन्दै सचेत रहन नागरिकलाई आग्रह समेत गरेको छ ।
त्यस्ता औषधि मेक्सिकोमा उत्पादन हुँने र चीनबाट आपूर्ति गरिएका रसायन मिसावट गरीएको अमेरिकी स्वास्थ्य अधिकारीको भनाइ छ ।




















