झापा । गौरादह नगरपालिका ५ बस्ने ४६ वर्षीय मबेसिर हुसेन मियाँको हत्या आरोपमा प्रहरीले ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा गौरादह नगरपालिका ५ बस्ने ३१ वर्षीय महम्मद सद्दाम, उनकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, सोही ठाउँ बस्ने २६ वर्षीय महम्मद सुलेमान, उनकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र सोही ठाउँ बस्ने ३८ वर्षीया कुर्समान खातुनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
मबेसिर हुसेन कात्तिक ११ गते बिहानदेखि हराएको भन्ने खबर १४ गते प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले कात्तिक २६ गते महम्मद सद्दामको घर तलासी लिनेक्रममा उनको घर बाहिर रहेको सेफ्टी ट्याङ्कीभित्र हत्या गरी कम्बलमा पोको पारेर फालिएको अवस्थामा उनको शव फेला परेको थियो ।
अनुसन्धानको क्रममा व्यक्तिगत रिसइबीको कारण मबेसिर हुसेनको हत्या गरेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनामा प्रयोग भएको धारिलो हतियार दाउ, छुरी र घन लगायत चिजबस्तुहरु समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेको उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।




















