काठमाण्डौं । नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयका सेनानी अशोकजंग शाहीमाथि छानबिन गर्न सैनिक मुख्यालयले ‘कोर्ट अफ इन्क्वाइरी’ गठन गरेको छ ।
सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडलका अनुसार महासेनानीको अध्यक्षतामा ‘कोर्ट अफ इन्क्वाइरी’ गठन गरिएको जानकारी दिए ।
कार्तिक २१ गते राति ११ बजेतिर मेजर शाही प्रदेश ०१–००२६च ३४६१ नम्बरको गाडी लिएर चिसापानी बजार पुगेर त्यहाँ रहेको संगम होटलका सञ्चालक हर्कबहादुर रावलसँग शाहीले झगडा गरेका थिए ।
लगत्तै शिक्षालयको गेटमा पुगेर ड्युटी बसिरहेका हुद्दा तीर्थबहादुर बडुवालाई एसएलआरसहित गाडीमा राखेर मेजर शाही पुनः चिसापानी बजार पुगेर बितण्डा मच्चाउन थाले पछि स्थानीयले उनको गाडीसमेत तोडफोड गरेका थिए ।
मेजर शाहीले हुद्दाले बोकेको राइफलसमेत खोसेर स्थानीयलाई ताकेको थियो । अत्याधिक मदिरा सेवन गरेको शाहीले बितण्डा मच्चाउन थालेपछि इलाका प्रहरी कार्यालय चिसापानीको टोली घटनास्थल पुगेर उनलाई नियन्त्रणमा लिएको थियो ।
आक्रोशित स्थानीयले आक्रमण गर्दा मेजर शाहीको टाउकामा चोटसमेत लागेको छ ।




















