एजेन्सी । ब्राजिलकी लोकप्रिय गायिका म्यारिलिया मेन्डोन्काको जहाज दुर्घटनामा परी मृत्यु भएको छ ।
२६ वर्षीया गायिका मेन्डोन्कासँगै उनका काका, निर्माता र चालकदलका २ जना सदस्यको समेत मृत्यु भएको बीबीसीले जनाएको छ ।
जहाज ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गराइसमा शुक्रबार विमान दुर्घटनामा परेको थियो । घटनाबारे अध्ययन सुरु गरिएको छ ।
गायिका मेन्डोन्का महिलाहरूका विफल सम्बन्धका अनुभुतिमा केन्द्रित भएर गीत गाउने गर्थिन । असफल सम्बन्ध र पीडाका भावना गीतमार्फत् प्रस्तुत गरेको भन्दै उनलाई ‘पीडाकी रानी’को उपनामले चिन्ने गरिन्थ्यो ।
मेन्डोन्काको लोकप्रियता सन् २०१६ देखि चुलिन थालेको थियो । गत वर्ष कोरोना संक्रमणका कारण उनका कन्सर्टको कार्यक्रम रद्द हुँदा अनलाइनबाटै दर्शकहरूलाई मनोरञ्जन दिलाएकी थिइन् । उनको उक्त अनलाइन कन्सर्टको ३३ लाख मानिसले एकैपटक युट्युब लाइभ हेरेका थिए । लाइभ कार्यक्रमका दर्शकको यो संख्या सर्वाधिक भएको विश्व माझ नै चर्चा छ ।
शुकरबार साँझ ब्राजिलकै काराटिन्गा सहरमा हुने कन्सर्टमा सहभागी हुन जादा १२ किलोमिटर वर नै उनी चडेको विमान दुर्घटनामा परेको थियो । जहाज दुर्घटनामा पर्नुभन्दा केही समय अघि मात्र उनले ट्विटरमा हवाई यात्रा गरिरहेको भिडियो पोस्ट गरेकी थिइन् ।




















