एजेन्सी । उत्तर कोरियामा जाडोको समयमा खाद्य संकट थप गम्भीर बन्दै गएको छ । उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका डिफेक्टरहरुले उत्तर कोरियाका कयौं परिवार भोकभोकै रहेको बताएका हुन् ।
बीबीसीका अनुसार जाडोको समयमा खान नपाएर उनीहरुको ज्यानसमेत जान सक्ने डिफेक्टरहरुले बताएका छन्। त्यहाँका बालबालिकासमेत उच्च जोखिममा छन् ।
समाचारमा जनाइअनुसार अनाथ बालबालिकाहरु खान नपाएर सडकमै मरिरहेको छन् । जाडोको समयमा झन् भोकमरी बढ्ने डिफेक्टहरुले बताएका छन् ।
डेली एनकेका प्रधानसम्पादक ली साङ योङले भने, ‘सडकमा धेरै अनाथ बालबालिकाहरू भोकमरीले मर्ने गर्छन् । भोकमरीका कारण हुने मृत्यु लगातार बढ्दै गएको छ ।
उनका अनुसार उत्तर कोरियामा तल्लो वर्गका जनताहरु बढी पीडित छन् । अपेक्षा गरेभन्दा बढी उत्तर कोरियामा खाद्यान्य अभाव रहेको उनले बताएका छन् ।
खाद्यन्न तथा कृषिजन्य मलका लागि उत्तर कोरिया चीनसँग निर्भर रहँदै आएको छ । तर, चीनमा कोरोना फैलन थालेपछि उत्तर कोरियाले गएको वर्षको जनवरीदेखि संक्रमण रोक्न भन्दै सबै नाका बन्द गराएको छ । जसले गर्दा उत्तर कोरियाको जानकारी पाउन कठिन हुँदै गएको बीबीसीले जनाएको छ ।
उत्तर कोरियाबाट सूचना पाउन निकै कठिन छ । तर, पहिले नै खाद्यन्न संकट झेलेको उत्तर कोरियामा कोरोना भाइरसको महामारीले थप समस्या ल्याएको बताइन्छ ।




















