गोरखा । लक्ष्मी पूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो । तिथि अनुसार कार्तिक कृष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ ।
नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ ।
वर्षका चार महत्त्वपूर्ण रातहरू मध्ये लक्ष्मी पूजाको रातलाई सुखरात्रि भनिन्छ । यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ । लक्ष्मी धनकी देवीलाई भनिन्छ ।
लक्ष्मी शब्द को सर्वप्रथम उल्लेख ‘ऋग्वेद’ को पुरूषसूक्तमा भेटिन्छ । ‘श्रीश्च ते लक्ष्मीश्च ऊषाण ।’ हे परमेश्वर, अनन्त शोभास्वरूप श्री र अनन्त शुभ लक्षण युक्त लक्ष्मी दुवै हजुरको पत्नी हुन् । तंत्रागम का अनुसार सर्वोत्तम अवस्थामा विष्णु साथै उनको शक्ति लक्ष्मी एकै परमात्मा हुन् ।
विष्णु र लक्ष्मी एक–आपसमा अभिन्न छन् । केवल सृष्टिको समयमा भिन्न देखिन्छन् । स्त्रीको चौसठ्ठि कला मानिएको छ । चौसठ्ठि कला युक्त महिला लाई लक्ष्मी पनि भनिन्छ । सौभाग्य, समृद्धि , सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ । भगवती दुर्गाको हजार नाममा एक नाम लक्ष्मी पनि हो ।
लक्ष्मी पुजा किन गरिन्छ ? यस्तो छ धार्मिक मान्यता
यमपञ्चकको तेस्रो दिन आज साँझ देशैभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।
बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजा गर्न आज बिहानैदेखि घरको सरसफाइ एवम् लिपपोत गर्ने गरिन्छ ।
लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।
गृहेणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन् ।
लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास छ ।
आज साँझ केटीहरू समूह बनाई घरघरमा भैलो खेल्न हिँड्छन् । यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ ।
सत्ययुगमा वामन अवतार भगवान् विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बीलले भगवान्लाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गर्दै जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गरुन् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको जनविश्वास रही आएको छ ।



