काठमाण्डौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्कालै खारेज गर्न माग गरेको छ ।
अध्यक्ष राजिव ढुंगानाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै, ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज होस् । अन्यथा कडा प्रतिवाद गर्न बाध्य हुनेछौं’ भनेका छन् ।
संघले जारी गरेको विज्ञप्तीमा नेपाल आयल निगमको बेथिती, भ्रष्ट«ाचार र अनियमितता नियन्त्रण हुनुपर्ने पनि माग गरेको छ ।
यता नेविसंघका महामन्त्री दीपक भट्टराईले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
कोरोना महामारीका बेला जनतालाई राहत हुने गरी काम गर्नुपर्ने बेला पटकपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुने गरेको भन्दै नेविसंघले असन्तुष्टि समेत जनाएको छ ।
आयल निगमले पछिल्लोपटक खाना पकाउने ग्यासमा ५० रूपैयाँ र पेट्रोल, डिजेल तथा मट्टीतेलमा ३–३ रूपैयाँका दरले मूल्यवृद्धि गरेको छ ।




















