काठमाण्डौं । मानव बेचविखनमा संलग्न रहेको अभियोगमा चितवन भरतपुर महानगरपालिका १० बस्ने ५० वर्षीय बिश्वबन्धु घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले घिमिरेलाई भरतपुर महानगरपालिका २ क्षेत्रपुरबाट पक्राउ गरेको हो ।
घिमिरेले नृत्य सिक्ने क्रममा चिनजान भएकी १९ वर्षीया किशोरीलाई आफू कोरियोग्राफरको काम गर्ने तथा दुबईमा स्टेज शो मा महिनाको १ लाखदेखि ४ लाखसम्म कमाई हुने गरी लैजाने प्रलोभन देखाएर २०७० फागुन ४ गते काकडभिट्टा हुँदै भारतको सिलगुढीबाट बैंगलौर पुर्याई यौन ब्यवसायमा लगाउने गरी बिक्री गरेका थिए ।
बैंगलौरको चिफ ईन र सेनोरीता भन्ने रेष्टुरेन्टमा जबरजस्ती यौन व्यवसायमा लगाउने गरी बेचबिखन गरेको अवस्थामा किशोरीले आफन्तलाई जानकारी गराएपश्चार माईती नेपालको सहयोगमा उनलाई २०७१ वैशाख १५ गते उद्धार गरी नेपाल ल्याईएको थियो ।
नेपाल आएपश्चात पीडितको जाहेरीका आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले घिमिरेलाई पक्राउ गरेको हो । घिमिरेले विगत ३० वर्षदेखि विभिन्न नृत्य केन्द्रहरूमा नृत्य प्रशिक्षकका रुपमा काम गर्ने गरेको खुल्न आएको छ ।
उनीउपर जिल्ला अदालत काठमाण्डौंबाट म्याद थप गरी अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।




















