साँकेतिक तस्बिर
काठमाण्डौं । बैंकिङ कसूर मुद्दाका १ जना फरार प्रतिवादीलाई प्रहरीले काठमाण्डौंको चुन्नीखेलबाट पक्राउ गरेको छ ।
राजधानीको टोखा नगरपालिका ५ बसुन्धरा बस्ने अर्घाखाँची पाणिनी गाउँपालिका ८ घर भएकी ३५ वर्षीया अप्सरा खातुनलाई प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७७ मंसिर १६ गतेको फैसलाले ७ दिन कैद र ७३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीको टोलीले राजधानीको बुढानिलकण्ठ नगरपालिका १० चुन्नीखेलबाट पक्राउ गरेको हो ।
खातुनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी नविल बैंक लिमिटेडको चेक काटी दिएको घटनामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको व्यूरोले जनाएको छ ।


