हेटौडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डेले आज सपथ लिने कार्यक्रम तय गरिएको छ । उनी संगै अन्य केही मन्त्रीहरुले पनि आजै शपथ लिँने भएका छन् ।
नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डेले मुख्यमन्त्रीको शपथ संगै नेपाली कांग्रेसका कृष्णलाल भँडेल, एकीकृत समाजवादी कृष्ण खनाल र माओवादीका कुमारी मोक्तानले मन्त्रीको शपथ लिने भएका हुन् ।
बिहीबार ३ः१५ बजे शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ । आज मन्त्रीमा सपथ लिने कुनै पनि मन्त्रिको जिम्मेवारी बाँडफाड गरिएको छैन ।
बागमती प्रदेशमा गठबन्धन गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी तथा संघीय समाजवादीका ५९ प्रदेश सांसदहरुको समर्थनमा एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डेले बुधबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।
प्रदेश प्रमुख शर्माले बिहीबार दिउँसो ३ बजेसम्म २ वा २ भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका थिए ।
११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ जना सांसद चाहिनेमा गठबन्धनले ५९ जना सांसदको हस्ताक्षर बुझाएका छन् ।
हस्ताक्षर बुझाउनेहरुमा माओवादी केन्द्रका २३, कांग्रेसको २२, नेकपा (एकीकृत समाजवादी) का १३ र जसपाका १ जना प्रदेश सभाका सदस्य छन् ।
अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि उनले बुधबार नै प्रदेशसभामा राजीनामा घोषणा गरेकी थिइन् ।




















