हेटौडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिदै छन् ।
आजको प्रदेश सभाको बैठकमा विश्वासको मत लिन बैठक दिउँसो १ः०० बजेको लागी बोलाईएको छ ।
प्रदेश सभामुख सानुकुमार श्रेष्ठले बुधबारको बैठकमा विश्वासको मतसम्बन्धि सम्पूर्ण प्रक्रिया अघि बढाइने जानकारी दिए ।
प्रदेश सभा सचिवालयका अनुसार मत विभाजन सम्बन्धि कार्यविधि, २०७८ सभाबाट पारित भएपछि मतदान प्रक्रिया सुरु हुनेछ । तर उक्त कार्यविधि अझै पनि सभामुख श्रेष्ठलाई मस्यौदा समितिले हस्तान्तरण गरेको छैन ।
प्रदेश सभामा सभामुखसहित एमालेका ५६ सदस्य मध्ये १३ जनाले माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) रोजे पछि भने अहिले प्रदेशसभामा एमाले ४३ सदस्यीयमा खुम्चीएको छ ।
१०९ जना प्रदेशसभा सदस्य रहेको बागमतीमा बहुमतका लागि ५५ मत आवश्यक पर्छ । माओवादी केन्द्रका २३, कांग्रेसका २२, विवेकशील साझाको ३, नेमकिपा र राप्रपाको २–२ जना प्रदेश सभा सदस्य छन् ।
मुख्यमन्त्री बनेको एक सातामै अल्पमतमा परेकी शाक्यले २ महिनापछि प्रदेशसभामा विश्वासको मत लिन लागेकी हुन् ।




















