पोखरा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखराबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका १७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका १ कोल्बी बस्ने २६ वर्षीय ऋषि भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका ६ को लेकसाईडस्थित होटल ड्रिमल्याण्डमा महिलाहरुलाई काममा लगाई दिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी तथा डर त्रास समेत देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको भन्ने सूचना प्राप्त भएकोले वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
उक्त स्थान केही महिलाहरुलाई उद्दार गरि उनीहरुको आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेकाहरु उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।




















