काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरुको महान चाड बडादशैंमा सबै देशबासीलाई संबोधान गर्दै दशैंलगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएको बताएका छन् ।
विजयादशमीका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान भएकाले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको सन्देशमा उल्लेख गरेका छन् ।
देउवाले कोभिड–१९ नियन्त्रणका उपायहरुलाई प्रभावकारी बनाउँदै लगिएको भए पनि यसको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर दशैं पर्व मनाउन आम नेपालीलाई आग्रह समेत गरेका छन् ।
उनले दशैं पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् र राष्ट्रिय एकताको भावना अझ विकास गर्न सकोस् भन्ने कामना समेत गरेका छन् ।


