पोखरा । पर्यटकीय गाउँ घान्द्रुकमा भरर्खर जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
प्राप्त जानकारी अनुसार पोखरास्थित हरिचोकबाट छुटेको ग. १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको हो ।
जीपमा चालक सहित १० जना यात्रु सवार थिए । ती मध्ये एक जना जीवितै उद्धार गरिएको स्थानीयले बताएका छन् ।
जीप चालक खुशीमान क्षेत्री रहेको बुझिन आएको र उनको अवस्थाबारे पनि अज्ञात रहेको छ । अहिले घटनास्थलमा स्थानीयबासी र प्रहरीले उद्धार गरिरहेको छ ।
घान्द्रुकको कलाभीर भन्ने स्थानबाट जीप मोदी खोलामा खसेको प्रत्यक्षदर्शीले बताए । कलाभीरमा निकै अप्ठेरो बाटो छ । मृतकको सनाखत हुन सकेको छैन ।
दशैंको छुट्टिमा घुम्न हिंडेकाहरु दुर्घटनामा परेको अनुमान गरिएको छ । उनीहरु काठमाण्डौंबाट घान्द्रुक घुम्न आएका थिए ।
अहिले उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ ।
घटनास्थल पुगेको प्रहरीले लाशको मुचुल्का उठाई परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा ल्याउने तयारी भईरहेको जनाएको छ ।




















