ललितपुर । अपहरण तथा शरीर बन्धक मुद्दामा २ पाकिस्तानीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
त्रिभूवन बिमानस्थलबाट १ जना नेपालीलाई अपहरण गरेको आरोपमा काठमाण्डौंको ठमेल नर्सिङ चोकबाट गत प्रहरीले पाकिस्तानी नागरिकहरू राहदानी नम्बर बि टि ५८४०९११ बाहक जिसान मुहम्मद र राहदानी नम्बर ए एक्स ७५९७९६२ बाहक ताज रिजवानलाई पक्राउ गरेको हो ।
गत सोमबार बेलुकी ललितपुर धापाखेलस्थित सिभिल होमको ४१७ नम्बर घरबाट पीडितले झ्यालबाट भागेर गुहार मागेपछि उनी अपहरण परेको प्रहरीले पुष्टी गरेको थियो । तत्कालै महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले अनुसन्धानका क्रममा पाकिस्तानी नागरिकहरुलाई पक्राउ गर्न सफल भएको हो ।
पीडित सोही दिन एयर अरेवियाको फ्लाईटबाट काठमाण्डौं हुँदै क्यानडा जान भनी एयरपोर्टमा आएकोमा एयरपोर्टमै लिन गएका उनीहरूले धापाखेल लगी सिभिल होममा राखी डोरीले बाधी उनी क्यानडा पुगिसकेको भनि घरबाट २५ हजार अमेरिकी डलर मागेपछि पीडितले मौका छोपी झ्यालबाट भागि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनास्थलबाट डोरी, ब्लेड, रड लगायत सामग्रीहरु बरामद गरेको छ ।
उनीहरूउपर अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा जिल्ला अदालत ललितपुरबाट १५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको महानगरीय प्रहरी परीसर ललितपुरले जनाएको छ ।




















