तनहुँ । गण्डकी प्रदेशका बन बातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापाले च्यवनधामलाई धार्मिक पर्यटनको नमुना गन्तव्यस्थल बनाउन गण्डकी प्रदेश सरकारले सहयोग गर्ने बताए ।
सोमबार शुक्लागण्डकी नगरपालिका २ स्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामको अवलोकन पश्चात मन्त्री थापाले सो कुरा बताएका हुन् ।
मन्त्री थापा समक्ष च्यवनधाम कार्यसमितिका सदस्यहरूले कमाउण्डका लागि सहयोग गर्न आग्रह गरेपछि उनले सहयोग गर्ने प्रतिबद्दता समेत व्यक्त गरेका छन् ।
समितिका सचिव दुर्गादत्त सापकोटाले धामका भौतिक संरचना र जग्गा संरक्षणका लागि कम्पाउण्ड गर्नुपर्ने आवश्यकता रहेपनि बजेट अभावमा गर्न नसकिएको गुनासो राखेका थिए ।
मन्त्री थापा संगै प्रदेश सभा सदस्य आशा कोईराला, प्रदेश योजना आयोगका सदस्य सुवास अधिकारी, जिल्ला बन कार्यालयका प्रमुख कोमलराज काफ्ले लगायतको टोलीले मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम स्थित शुक्लेश्वर मन्दिर, बौद्व गुम्बा, कृतिम हिमाल, १०८ पिपल, १०८ धारा लगायतका संरचनाको अबलोकन गरेका थिए ।
त्यसैगरी मन्त्री थापाले म्याग्दे गाउँपालिका–२ स्थित ज्यान्टयाङ सामुदायिक बनमा निर्माण गरिएको हरित पार्क र म्याग्दे–१ गुणादीको बाघेटारीमा निर्माण गरिएको बाघको मूर्तिको समेत अवलोकन गरेको डिभिजन बन कार्यालयका डिभिजन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।




















