पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले मानवअधिकारको अभियानलाई सार्थक बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताए ।
राष्ट्रिय मानव अधिकार आयोगले आज आयोजना गरेको ‘मानव अधिकार मैत्री पत्रकारिता विषयक तालिम’ कार्यक्रममा बोल्दै मन्त्री थापाले मानवअधिकारको अभियानलाई सार्थक बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको भन्दै लेखनमा मानव अधिकारमैत्री शब्द र भाषाको प्रयोग हुनुपर्नेमा जोड दिए ।
‘मानव अधिकारको विषय पत्रकारिताका लागि ज्यादै संवेदनशील र गम्भीर भएको’ भन्दै मन्त्रि थापाले ‘पत्रकारले समाचार संकलन तथा सम्प्रेषण, प्रस्तुति र प्रभावमा बिशेष ध्यान दिन आवश्यक रहेको’ भने ।
‘पत्रकारको काम जनतालाई सुसूचित मात्र होइन मानवअधिकारको वकालत गर्नु पनि हो’, मन्त्री थापाले भने, ‘सरकारका राम्रा पक्षका बारेमा पनि जनतालाई सुसूचित गराउन मिडियाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता छ ।’
मन्त्री थापाले प्रदेशको आम सञ्चार विधेयक सञ्चारमैत्री बनाइने भन्दै सञ्चार विधेयक विधायन समितिमा भएकाले सबैको सल्लाहमा नेपालकै उत्कृष्ट बनाइने प्रतिबद्वता समेत ब्यत्त गरे ।




















